धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाअध्यक्षहरुबीचको विवाद मत्थर हुनुको साटो झन् गहिरिदै जाने देखिएको छ ।
शुक्रबार आर्थिक विकास समितिको बैठकमा कुरा नमिलेपछि सहजीकरण गर्न पुगेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १५ का अध्यक्ष नरेश इवारमले आफुलाई अमर्यादित र अश्लिल अभिव्यक्ति दिएको भन्दै कार्यवाहक मेयर बेघाले विज्ञप्ती जारी गरेपछि विवाद सतहमा आएको थियो । उनले सोही कारणले बैठक असहज बनेको र नगरसभा हुन नसकेको आरोप पनि वडाअध्यक्षहरुलाई लगाएका थिए ।
शनिबार वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उक्त आरोपको खण्डन मात्र गरेनन्, कार्यवाहक मेयर बेघाको बाल हठ, छलफलमा अप्रत्यासितरुपमा टेवल ठोकेर अमर्यादित र उत्तेजनात्मक अभिव्यक्ति, प्रस्तुतीकै कारण विवादको अवस्था सृर्जना भएको पनि बताए । उनीहरुले समयमा नै बजेट, नीति तथा कार्यक्रमको लागि बजेट विनियोजन गर्न नसक्नु कमजोरी भएको पनि स्वीकार गरेका छन् ।
‘नेतृत्वको हठपना तथा केटाकेटीपन, बेजिम्मेवारपनका कारण असार १० गते ल्याउनुपर्ने बजेट आजसम्म पनि सार्वजनिक गर्न नसक्नु नेतृत्वकर्ताले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो ठम्याई हो,’ प्रेस विज्ञप्ती वाचन गर्दै कार्यपालिका सदस्य अनुप देवानले भने,‘नेतृत्वको हैसियतबाट आफु मातहतको वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई छलफलबाट निकास निकाल्नुको सट्टा वक्तव्य जारी गर्दै विभिन्न सञ्चारमाध्यमबाट प्रचारबाजी गर्नु दुःखद छ ।’

३० जनाको धरानको कार्यपालिकामा तत्कालिन नेकपा माओवादीबाट निवार्चित उपमेयर बेघा र वडा नं १७ का वडाअध्यक्ष मात्र छन् । वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले राजिनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका मनिष बिष्ट पनि माओवादी (हाल नेकपा) कै भएकोले बेघाको साथमा स्पष्ट उनी मात्र देखिन्छन् । अन्य वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु एमाले, कांग्रेस र २ वडाअध्यक्ष राप्रपाबाट छन् । धरानको कार्यपालिका र नगरसभामा एमाले एक्लैको बहुमत भएपनि नेतृत्व भने गुमाएको छ ।
वडा नं १८ का अध्यक्ष राईले कार्यवाहक मेयरले नै आर्थिक विकास समितिको बैठकमा सहमति जुटाउन नसकेर मध्यस्थता गर्न बोलाएपछि १५ का वडाअध्यक्षसँग सहजीकरण गर्न पुगेको बताए । ‘हामीले समितिसँग कुरा गर्यौं, र मनायौं । त्यसपछि ल कार्यवाहक ज्यु यसो गरौं न त भनेर प्रस्ताव गर्दा एक्कासी तपाईहरुको भनेको मान्दै मान्दिन भनेर टेवल ठोकेर उफ्रिनु भयो,’उनले भने,‘हाम्रो कारणले होइन, उहाँकै कारणले यो अवस्था भएको हो ।’ कार्यवाहक मेयरले भनेजस्तो अश्लिल र अमर्यादित गालीगलौज नगरेको पनि उनले बताए ।
वडा १५ का अध्यक्ष इवारमले पनि कार्यवाहक मेयर बेघाले अभिभावकीय भुमिका निर्वाह गर्न नसकेको र आफुहरुलाई बोलाएको कारणले सहमति जुटाउन खोज्दा उल्टै मिडियाबाजी गरेर आरोप लगाएको बताए । ‘हामीले अश्लिल बोलेको प्रमाण छ ? बैठकमा विवाद, मतभेद हुन्छ, त्यसलाई त अभिभावक भएपछि समाधान प्रयास गर्ने हो, एकैचोटी विज्ञप्ती निकालेर आरोप लगाउने ?’ इवारमले भने,‘त्यो उहाँले सच्याउनुपर्छ, किनकि नगरसभा फेरि पनि गर्नुछ ।’
'आर्थिक विकास समितिको बजेट कार्यवाहक मेयरले ब्रेकडाउन गर्न खोजे'
आर्थिक विकास समितिको बजेटमा कार्यवाहक मेयर बेघाले क्षेत्राधिकार मिचेर ब्रेकडाउन गरेपछि विवाद सृर्जना भएको वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले बताएका छन् ।
आर्थिक विकास समिति मातहतको संकटग्रस्त सहकारीको लागि ५ करोड बजेट विनियोजन गर्न कार्यवाहक मेयरले दबाब दिइरहेका छन् । बिषयगत समितिहरु आफैले आफ्नो क्षेत्रको बजेटलाई ब्रेकडाउन गर्ने र बजेट तर्जुमा समितिमा पेश गर्नुपर्ने हुन्छ । समितिले ३ करोड मात्र विनियोजन गर्दा हुने र बाँकी रकम पर्यटन र आर्थिक गतिविधि विस्तारको लागि विनियोजन गर्न ब्रेकडाउन गर्न खोजेपछि विवाद शुरुवात भएको थियो ।

पर्यटन क्षेत्रको लागि मात्र १५ लाख बजेट विनियोजन भएको र यो पर्याप्त नभएको भन्दै समितिले सहकारीको बजेट यसमा ल्याउन चाहेका थिए । तर, कार्यवाहक मेयरले सहकारीको लागि ५ करोड नै हुनुपर्ने हठ गरेपछि सहमति नजुटेको कार्यपालिका सदस्य अनुप देवानले बताए । ‘वडा १५ र १८ का अध्यक्षहरुलाई बोलाएपछि उहाँहरुले पुर्वाधारको बजेट १ करोड पर्यटनमा दिने, र सहकारीलाई ५ करोड नै विनियोजन गर्ने गरि मिलाएर प्रस्ताव गर्नुभयो,’ उनले भने,‘त्यसमा पनि तपाईहरुले भनेको मान्दै मान्दिन, तपाईहरुले भनेको सबै कुरा मान्नुपर्ने ? भन्दै टेवुल ठोकेर उत्तेजनात्मक अभिव्यक्ति र प्रस्तुतीको काण यो अवस्था भएको हो ।’
वडा नं १५ का अध्यक्ष इवारमले पनि बिषगयत समितिहरु आफैले बजेट ब्रेकडाउन गर्ने अधिकार भएको तर कार्यवाहकले आर्थिक विकास समितिको बजेटमा हस्तक्षेप गरेर एकोहोरो अडान राखेपछि यो अवस्था आएको बताए । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले धरानलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने, पर्यटन प्रर्वद्धन गर्ने, स्थानीय व्यवसायलाई चलायमान बनाउने र नगरको आन्तरिक आम्दानी वृद्धि गर्ने कार्यक्रमलाई पर्याप्त बजेट दिन कन्ज्युस्र्या भएको पनि बताएका छन् ।
'सहकारी पीडितहरुको समस्यामा राजनीति नगरौं'
धरानका सहकारी पीडित नागरिकहरुको समस्या अत्यन्तै संवदेनशील र गम्भीर भएकोले उक्त बिषयमा आफुहरु कुनै पनि प्रकारणको राजनीति गर्न नचाहेको पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रष्ट पारेका छन् । पीडित नागरिकहरुको वचत फिर्ता, न्याय र समस्याको दीर्घकालिन समाधानको लागि समन्वय र संस्थागत पहलको आवश्यकता भएको पनि उनीहरुको भनाई छ ।
‘यस्ता संवदेनशील बिषयलाई राजनीतिक विवादसँग जोडेर नगरबासीमा भ्रम सृर्जना गर्ने, एक पक्षलाई मात्र दोषी देखाउने वा वास्तविक बिषयबाट ध्यान अन्यत्र मोड्ने प्रयास स्वीकार्य हुन सक्दैन,’ जारी विज्ञप्तीमा भनिएको छ ।
नगरको बजेटबाट चुनाव लड्न खोजेको आरोप

वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यवाहक मेयर बेघाले आफुखुशी एकल ढंगबाट खर्च गर्न पाउने गरि २६ करोड भन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् । यो बजेट विनियोजन गर्दा कार्यवाहक मेयरले कुनै पनि बिषयगत समितिहरुमा छलफल नै नगरेको पनि उनीहरुको गुनासो छ ।
वडाअध्यक्षहरुका अनुसार बेघाले मेयर कोष १ करोड ५० लाख, नगर गौरवमा ११ करोड, नगर भिजनमा ३ करोड, सडक मर्मत कोषमा ४ करोड, विपद व्यवस्थापनमा २ करोड र आर्थिक विकास समितिमा छुट्टै ५ करोड विनियोजन गरिएको छ । यो बजेटहरु बिषयगत समितिमा पर्याप्त छलफल नगरिएकोले कार्यवाहक मेयरले चाहे अनुसार खर्च गर्न सक्ने उनीहरुको भनाई छ । वडा नं १८ का अध्यक्ष राईले यो भन्दा अझैं धेरै (करिब ३२ करोड) बजेट चलाउनसक्ने गरि विनियोजन गरेको र आगामी चुनाव नगरकै बजेटबाट चुनाव लड्न खोजिरहेको आरोपसमेत लगाए ।
भिडियो







