धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो शुक्रबार गरिएको १२ वटा स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
प्रतिष्ठानमा विभिन्न जिल्लाबाट संकलन भएको स्वाबको परीक्षण गरिएको थियो । ती मध्ये सप्तरीबाट ल्याइएको ९ वटा थियो भने २ वटा ओखलढुंगा र एउटा भोजपुरबाट ल्याइएको स्वाब भएको बताइएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले ल्याबमा परीक्षण गरिएको १२ वटा स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । सप्तरीबाट ल्याइएको ९ मध्ये पनि ८ वटा भारतको दिल्लीस्थित मुश्लिमहरुको धार्मिक सभामा भाग लिएर आएकाहरुको हो । उक्त सभाको कारण भारतमा देशभर कोरोना संक्रमण फैलिएको बताइएको छ ।
सहप्रवक्ता ऐरका अनुसार प्रतिष्ठानमा थप चार वटा स्वाब संकलन रहेको र परीक्षण बाँकीरहेको उनले बताए । ‘अहिलेसम्म नेगेटिभ रिपोर्ट आउनु हाम्रो लागि सुखद हो,’उनले भने,‘हामी अहिलेसम्म सुरक्षित छौं ।’ प्रतिष्ठानमा ल्याब सञ्चालनमा आएपछि दैनिक १२ वटाको दरले स्वाबको नमुना परीक्षण भइरहेको छ । हालसम्म कुल ३६ वटा स्वाब परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।







