धरान: आज एकैदिन नेपालमा ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३२३ जना नयाँ संक्रमित थपिएको पुष्टि गरे । योसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ३२३५ पुगेको पनि डा.देवकोटाले जानकारी दिए ।

२ जनाको मृत्यु पुष्टि

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार डोल्पा र धनगढीमा २ जनाको मृत्यु भएको हो । डोल्पामा जेठ २१ गते राती २ बजे मृत्यु भएका ५८ बर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको उनले बताए । मृतक व्यक्ति दमको रोगी भएको र उनी जेठ १६ गते सुर्खेतबाट गएर क्वारेन्टाइनमा बसेको पनि उनले बताए ।

यसैगरि, धनगढी ४ की ५५ बर्षीय महिलाको पनि २३ गते निधन भएको थियो । मृगौला रोगबाट ग्रसित उनको डाइलाइसिसको क्रममा निधन भएको थियो । कोभिडको लक्षण नभएको तर पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको डा.देवकोटाले जानकारी दिए । योसँगै देशभर कोभिड १९ बाट मृत्यु भएको संख्या १३ पुगेको छ ।