धरान: पदाधिकारीहरुले प्रयोग गरिरहेका सवारी साधनहरुमा प्रष्ट देखिने गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लेख्न आन्दोलनरत संयुक्त संघर्ष समितिले निवेदन दर्ता गराएको छ ।
संघर्ष समितिले बुधबार प्रतिष्ठानको सामान्य प्रशासन शाखामा निवेदन दिएको हो । समितिको निवेदन दर्ता भइसकेको छ । उक्त निवेदनमा पदाधिकारीहरुले प्रयोग गरिरहेको रातो नम्बर प्लेटका सवारीसाधनहरुमा प्रष्ट देखिने र बुझिने गरि वीपी प्रतिष्ठान लेख्न अनुरोध गरिएको छ । अबको चौबिस घण्टाभित्र नलेखिए आन्दोलनकारीहरुले नै लेखिदिने पनि चेतावनी दिइएको छ । संघर्ष समितिले यसअघि नै पदाधिकारीहरु चढ्ने गाडीको चाबी जफत गरिसकेको छ । प्रतिष्ठानको हित गर्नको लागि दिइएको सुविधा दुरुपयोग भएको भन्दै आन्दोलनकारीहरुले गाडीको चाबी खोसेर राखेको हो ।
यसैगरि, नियम विपरीत प्रतिष्ठानको पदाधिकारीहरुको निवासमा काम गर्न पठाइएका ज्यालादारी कर्मचारीहरुलाई तुरुन्त फिर्ता बोलाउन पनि संघर्ष समितिले अनुरोध गरेको छ । ‘अन्यथा त्यसको भण्डाफोर गरिनेछ,’निवेदनमा उल्लेख छ । सामान्य प्रशासन शाखाको निमित्त प्रमुख महेश्वर राईले पदाधिकारीहरुको सवारीसाधनमा नाम लेख्ने प्रक्रिया अघि बढेको जानकारी दिए । यस्तै, कर्मचारी फिर्ता बोलाउने बिषय आफ्नो शाखा अन्तर्गत नभएर कर्मचारी प्रशासन मातहतको कुरा भएको पनि उनले प्रष्ट पारे । ‘गाडीमा नाम लेख्ने प्रक्रिया अघि बढेको छ, कर्मचारीको बिषय हाम्रो शाखा अन्तर्गत परेन, त्यो कर्मचारी प्रशासनअन्तर्गत हो,’उनले भने ।








