धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको राजिनामा स्वीकृत भएको छ । 

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रारको राजिनामा बिहीबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री देउवा स्वास्थ्यमन्त्री समेत हुन् । नियुक्तीको बेला र पछिल्लो समय विवादित भएका डा.रेग्मीले भदौ ११ गते राजिनामा दिएका थिए । उनले स्वास्थ्यमन्त्रीसमेत रहेका प्रधानमन्त्रीको कार्यालय राजिनामा बुझाएको भनिएपनि त्यसबारेमा विभिन्न आशंकाहरु उठेको थियो । उनले बुझाएको राजिनामाको पत्र स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानमा पनि नपुगेको कारण हल्ला मात्र हो कि भन्ने आशंका थियो । 

वीपीमा असार १ गतेदेखि जारी सुद्धिकरण आन्दोलनको क्रममा चारै जना पदाधिकारीहरुको राजिनामा माग भइरहेको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि चारै जनालाई राजिनामा दिएर निकास दिन आग्रह गरिसकेको छ । तर, रजिष्ट्रार रेग्मीबाहेक अन्यले भने राजिनामा दिएका छैनन् ।